“देशलाई एकता र साँचो कुराको खाँचो छ, हल्ला र झूटको होइन,” मेयर बालेन
3 Shares
काठमाडौँ। गत भदौ २४ गते सिंहदरबारमा भएको आगलागीका विषयमा काठमाडौँ महानगरपालिका र नगर प्रमुख बालेन शाहमाथि लागेका ‘दमकल ढिलो पुग्यो’ र ‘आगो निभाउन सहयोग गरेन’ जस्ता आरोपहरूको महानगरले खण्डन गरेको छ। नगर प्रमुख बालेन शाहले फेसबुक मार्फत महानगरले एक लामो स्पष्टीकरण जारी गर्दै विषम परिस्थितिमा दमकल, स्वास्थ्यकर्मी र नगर प्रहरीको टिमले गरेको कामको विस्तृत विवरण सार्वजनिक गरेको हो।
अराजक स्थितिमा पनि महानगर पछि हटेन
महानगरले आगलागी भएको भदौ २४ गतेको दिनलाई ‘देश अस्तव्यस्त’ र ‘राज्य नै ठप्प’ भएको पूर्ण अराजक स्थिति भनेको छ। सवारीसाधन त के मान्छे समेत हिँडडुल गर्न नसक्ने त्यस अवस्थामा महानगरपालिका आफ्नो दायित्वबाट पछि नहटेको दाबी गरेको छ।
अवरोध: महानगरका अनुसार सिंहदरबारमा आगो लाग्नासाथ दमकल गए पनि आन्दोलनकारीको अवरोधले जान सकेन। नेपाली सेनाको दमकलले समेत भिडका कारण काम गर्न नपाएको अवस्था थियो।
पुगेको समय: भिड शान्त हुने बित्तिकै २४ गते साँझ ८:१५ भित्रै महानगरको दमकल सिंहदरबार पुगेको थियो।
दैनिक काम: सो अवधिमा महानगरको दमकल केवल सिंहदरबारमा मात्र नभई २३ गतेदेखि २८ गतेसम्म उपत्यकाका ५५ भन्दा बढी स्थानमा (संसद भवन, अख्तियार, सर्वोच्च अदालत, विभिन्न बैंक तथा कार्यालयहरू, प्रहरी वृत र घरहरू) आगलागी नियन्त्रणका लागि पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ।
दमकलको सीमितता र जनशक्तिको जोखिम
महानगरपालिकाले सीमित स्रोतसाधनका बाबजुद काम गरेको उल्लेख गरेको छ:
स्रोत: महानगरमा जम्मा ५ वटा दमकल मात्र सञ्चालनमा छन्।
जनशक्ति: दमकल सञ्चालनका लागि १४ नगर प्रहरी र ३० सशस्त्र प्रहरी गरी ४४ जनाको टिम खटिए पनि एउटा दमकलमा एक सिफ्टमा बढीमा ३ जना मात्र जनशक्ति रहने गरेको जानकारी दिइएको छ।
स्वास्थ्य सेवा र उद्धारमा महानगरको नेतृत्व
आगलागी नियन्त्रणसँगै महानगरको टिमले त्यस अवधिमा स्वास्थ्य सेवा तथा उद्धारमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेको छ।
निशुल्क उपचार: संघीय सरकारले घोषणा गर्नुअघि नै महानगरभित्रका सम्पूर्ण अस्पताललाई निशुल्क उपचारका लागि समन्वय गरियो।
व्यवस्थापन: घाइतेको उपचार, रगत तथा औषधि व्यवस्थापन, बिरामी तथा कुरुवाका लागि निशुल्क खानाको व्यवस्था गरिएको थियो।
अभिभावकत्व: अभिभावक नभएका बिरामीहरूको उपचारका लागि महानगर टिम नै अभिभावक बन्यो, अपरेसनका लागि ‘Informed Consent Form’ मा समेत नगर प्रहरीले हस्ताक्षर गरी जिम्मेवारी लिएको उल्लेख छ।
शहीद व्यवस्थापन: लास व्यवस्थापनका लागि परिवारलाई आउने-जाने, खाने-बस्ने व्यवस्थापनका साथै नेपाली सेनाको सहयोगमा लासलाई घरसम्म पुऱ्याउने व्यवस्था गरिएको थियो।
अफवाह नफैलाउन आग्रह
महानगरले अन्त्यमा आम नागरिकलाई बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरूबाट सावधान रहन आग्रह गरेको छ। यस्ता कार्यले जनतामा डर र भ्रम सिर्जना गर्ने र जोखिम मोलेर काम गर्ने टिमको मनोबल गिराउने हुँदा मिडियालाई समेत सत्य तथ्य खोजेर मात्र समाचार लेख्न अनुरोध गरिएको छ। “देशलाई एकता र साँचो कुराको खाँचो छ, हल्ला र झूटको होइन,” महानगरले स्पष्ट पारेको छ।
प्रतिक्रिया