संघीय बजेटले लुम्बिनी प्रदेशमा सुरुङमार्ग निर्माणमा जोड दिएको छ । लुम्बिनीको सिद्धबाबा सुरुङमार्ग २ वर्षभित्रै सम्पन्न गर्ने र थप ५ स्थानमा सुरुङमार्गको सम्भाव्यता अध्ययन हुने भएको छ । भारतको नैतनवादेखि भैरहवालाई रेलमार्गबाट पनि जोडिने गरी बजेटले सम्बोधन गरेको छ ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटले उनको गृह प्रदेशका उद्योगी र व्यवसायीलाई खुशी र उत्साहित बनाएको छ । बजेटमा लुम्बिनी प्रदेशको सिमानामा पर्ने बर्दघाट–दुम्कीबास सुरुङ निर्माण गर्ने उल्लेख छ । त्यस्तै कपिलवस्तुको शिवपुरदेखि प्रदेश राजधानी रहेको दाङको भालुवाङ, रानीघाट–भुरीगाउँ, बबई–छिन्चु, हात्तिसार–बबईमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । बजेटमा रेलमार्गको सम्भावनालाई पनि समेटिएको छ ।
नौतनवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज जोड्ने सीमावर्ती रेलमार्ग निर्माण कार्यको तयारी सुरु गर्नेगरी बजेट विनियोजन गरिएको सरकारले जनाएको छ । त्यस्तै, दाङमा पेट्रोलियम पदार्थ उत्खननको काम सुरु गर्ने पनि बजेटमा उल्लेख छ । त्यसले भविष्यमा ऊर्जा सुरक्षाको राष्ट्रिय योजनासँग लुम्बिनीलाई जोड्ने अर्थमन्त्री पौडेलले बिहीबार बजेट प्रस्तुत गर्दै बताए । लुम्बिनी प्रदेशको दाङको तुलसीपुर उमहानगरपालिका–१३ पेट्रोल खानी रहेको दाबी गरिएको छ । साबिकको फूलबारी गाविसमा एक पटक उत्खनन् गरेर त्यहाँबाट निस्केको पेट्रोललाई प्रशोधन गर्दा प्रयोग गर्न मिल्ने देखिएपनि तर त्यसपछि त्यसमा थप कुनै प्रक्रिया अघि नबढेको स्थानीयको गुनासो थियो । फूलबारी क्षेत्रमा खानी रहेको र त्यसको उत्खनन् गर्दा गाडिएका पाइप अहिले पनि त्यसै छोडिएको छ ।
नागढुंगा–सिद्धबाबा द्रुतमार्ग अन्तर्गत पर्ने सुरूङ मार्गको निर्माण आगामी वर्षमा सम्पन्न गरिने योजना पनि बजेटमा प्रस्तुत गरिएको छ । जसले काठमाडौंदेखि लुम्बिनीको यातायात सहज बनाउनेछ । अर्थमन्त्री पौडेलले लुम्बिनीमा कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, अन्तर्राष्ट्रिय विमानस्थल, खेलकुददेखि ऊर्जा र रेलमार्गसम्मका महत्वपूर्ण आयोजनाहरु घोषणा गरेका छन् । सरकारले आगामी वर्ष भैरहवाबाट उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई थप प्रोत्साहन र सहयोग गर्ने भएको छ । अर्थमन्त्री पौडेलले भैरहवा र पोखराबाट उडानका लागि सहुलियतको घोषणा गरेका हुन् । ‘नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा गरेका वायुसेवा कम्पनीलाई भैरहवा र पोखराबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइने छ,’ बजेट भाषणमा उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकहरूको लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन जोड दिइनेछ ।’ त्यसको लागि विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइने उनले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइने पनि बजेटमा उल्लेख छ । त्यस्तै, दाङको टरीगाउँ विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन तयार गरिने गरी बजेटमा उल्लेख छ ।
सरकारले सिद्धबाबा सुरुङमार्ग आगामी दुई वर्षभित्र सञ्चालनमा आउने भएको छ । रुपन्देही र पाल्पा जोड्ने सुरुङमार्ग सञ्चालनपछि सिद्धार्थ राजमार्गको यातायात सहज हुने सरकारको विश्वास छ । ११ सय मिटरको सिद्धबाबा सुरुङमार्गको माघमा ‘ब्रेक थ्रु’ गरिएको थियो । अहिले पनि निर्माणको काम तीव्र छ । सरकारले नागढुंगा र सिद्धबाबा सुरूङमार्गको निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड रकम विनियोजन गरेको छ ।
ज्यउभ क्ष्ख्ँ
न्यिदब िक्ष्ःभ् ग्उमबतभम ःबथ ज्ञद्द
क्गलचष्कभ दबलप
सरकारले लुम्बिनी र गण्डकी प्रदेश जोड्ने सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरी डबल लेनको बनाउने घोषणा गरेको छ । सुनौलीदेखि पाल्पा, स्याङ्जा हुँदै पोखरा जोड्ने सडकलाई २ लेनमा विस्तार गरेर भारतीय पर्यटकहरुलाई मुस्ताङसम्म पुर्याउने उद्देश्यका साथ सरकारले सिद्धार्थ राजमार्ग विस्तारको थालनी गर्न लागिएको अर्थमन्त्री पौडेलले बताए । उनले रुपन्देही, नवलपरासी र कपिलवस्तु क्षेत्रमा गौरवको आयोजनाका रूपमा अघि सारिएको कालीगण्डकी तिनाउ डाइभर्सनलाई पनि निरन्तरता दिएको बताएका छन् । विद्युतीकरण र सिँचाइका लागि महत्त्वपूर्ण आयोजना मानिएको यो योजनालाई आगामी वर्षका लागि बजेट विनियोजन गरिएको भाषणमा उल्लेख थियो ।
सरकारले बाँकेमा सञ्चालित भरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना पनि आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी २ अर्ब ७ करोड रकम विनियोजन गरेको छ ।
प्रतिक्रिया