Developed By Kuldeep Sharma

August 17, 2025

सुनवलमा भौतिक पूर्वाधारको फड्को

 

सुनवल, नवलपरासी – “समृद्ध नगर, सुखी नगरवासी” को नारा बोकेको सुनवल नगरपालिकाले पछिल्लो समय सामाजिक सेवा र भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ। स्थानीय सरकारको वर्तमान नेतृत्वले ‘नारीको नेतृत्व, सामाजिक सद्भावसहित समृद्ध सुनवलको जोगाउ अस्तित्व’ भन्ने लक्ष्य राख्दै विभिन्न नमुना कार्यहरूको अभ्यास गरिरहेको छ।

भौतिक पूर्वाधारमा तीव्र गति

२०७४ सालदेखि हालसम्म सुनवलमा भौतिक पूर्वाधार निर्माणले गति लिएको छ। नगरपालिकाले १७.५ किलोमिटर कालोपत्रे सडक, ३९ किलोमिटर ग्राभेल, र १३.६ किलोमिटर माटे सडक निर्माण गरेको छ। पुल, कल्भर्ट र ह्युम पाइप जडानमा पनि प्रगति भएको छ, जसमा १ झोलुङ्गे पुल, २२ कल्भर्ट, र १२२ ह्युम पाइप निर्माण भइसकेका छन्।

खानेपानी तथा सरसफाइतर्फ, हालसम्म ६०३ वटा नयाँ धारा जडान गरिएको छ र ५ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने घरधुरीलाई निःशुल्क खानेपानी सेवा प्रदान गरिएको छ। सिँचाइका लागि ८.५११ किलोमिटर नहर र २ पोखरी निर्माण भएको छ।

स्वास्थ्य र शिक्षामा लगानी

नगरका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन्। नगर अस्पतालको १५ सैयाको भवन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ भने आँखा उपचार केन्द्र विस्तार र डायलाइसिस सेवाको तयारी पनि भइरहेको छ।

शिक्षा क्षेत्रमा पनि लगानी बढाइएको छ। गुरुकुलम विद्यालयको स्थापना, ‘एक वडा एक खेल मैदान’ कार्यक्रम र सबै सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ। विद्यार्थीको सुविधाका लागि १४ विद्यालयलाई बस र १२ विद्यालयलाई अटोरिक्सा उपलब्ध गराइएको छ।

सुनवल नगरपालिकाले यी सबै कार्यहरूमा सफ्टवेयर प्रणालीको प्रयोग गरी सेवालाई थप प्रभावकारी बनाएको छ। यसले स्थानीय विकासको गतिलाई बढाउँदै सामाजिक न्याय र समावेशी शासन स्थापनामा महत्वपूर्ण भूमिका खेलेको छ।

सामाजिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि

नगरपालिकाले नागरिकको हितलाई केन्द्रमा राखेर थुप्रै सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको छ। नगरका सबै १३ वटै वडामा निःशुल्क फोटोकपी सेवा उपलब्ध गराइएको छ भने पोषणबापत तीन हजार र मृत्यु संस्कारका लागि पाँच हजार रुपैयाँ आर्थिक सहयोग दिइन्छ। महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ र हिंसामा परेका महिलाका लागि सुरक्षित आवास भवन तथा कोष स्थापना गरिएको छ।

स्वास्थ्य सेवामा पनि विशेष ध्यान दिइएको छ। ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको घरमै स्वास्थ्य परीक्षण गर्ने, मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्ने र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने जस्ता कार्यहरूले नागरिकलाई ठूलो राहत मिलेको छ। नगरका सबै वडामा ज्येष्ठ नागरिक दिवा सेवा सञ्चालनमा छ भने विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि आवासीय विद्यालय निर्माण गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak