Developed By Kuldeep Sharma

August 14, 2025

बुद्धजन्म स्थल लुम्विनीको बृहत् परिक्रमाको डीपीआर तयार गरिने, पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने

 

काठमाडौं,: लामो समयदेखि चर्चामा रहेको बुद्धजन्म स्थल लुम्विनीको बृहत् परिक्रमाको योजनालाई अघि बढाउन विस्तृत परियोजना प्रतिवेदन (    डीपीआर ) तयार गरिने भएको छ। यो  कार्य ‘ सर्वधर्म शान्ति समाज ‘ नामक संस्थाको पहल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहजीकरणमा अगाडि बढाइन लागिएको हो।

यस सम्बन्धमा मन्त्रालयमा भएको छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), कोषका सदस्य सचिव सानुराजा शाक्य र सर्वधर्म शान्ति समाजका संस्थापक अध्यक्ष भिक्षु कृष्णमान लगायतको टोली सहभागी थियो।

छलफलका क्रममा यस परियोजनाको महत्त्व र यसले लुम्बिनीको पर्यटनमा पार्ने सकारात्मक प्रभावबारे विस्तृत कुराकानी भयो। ९६ वर्षीय भिक्षु कृण मानले यो योजनाको दीर्घकालीन महत्त्वबारे प्रकाश पार्नुभएको थियो।

लम्बिनी बृहत् परिक्रमा” लाई “लम्बिनी बृहत् परिक्रमा पथ” मा परिवर्तन गरिनेछ । यो पथको अवधारणा वि.सं. २०६७ सालमा भिक्षु कृष्णमानद्वारा तयार पारिएको थियो र त्यस समयमा लुम्बिनी विकास कोषबाट यसलाई अनुमोदन तथा स्वीकृति प्राप्त भएको थियो ।

सर्वधर्म शान्ति समाजकी प्रतिनिधि नायीका करुणा पाण्डेका अनुसार संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकारवाला निकायहरूको सहजीकरणमा बृहत् परिक्रमाको डीपीआर  तयार गर्ने योजनाबारे छलफल भएको हो।

छलफलका क्रममा   मन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालयको नीति, विधि र पद्धतिभित्र रहेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। त्यसैगरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले यो परियोजना सम्पन्न गर्न कोषले आवश्यक सहजीकरण गर्ने बताउनुभयो। समाजका महासचिव अशोक मान्धरका अनुसार यो पहलले लुम्बिनीको विकासमा नयाँ गति दिने र नेपालमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन थप सहयोग पुग्ने विश्वास गरिएको छ।

बृहत् परिक्रमाको योजनाले सर्वधर्म शान्ति समाजकी प्रतिनिधि नायीका  पाण्डेका अनुसार लुम्बिनीको धार्मिक र सांस्कृतिक महत्त्वलाई अझ बढी उजागर गर्नेछ भने यसले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। डीपीआर तयार भएपछि परियोजना निर्माणको काम अगाडि बढ्नेछ। यस योजनाका लागि अन्तर्राष्ट्रिय संस्था, दातृ निकाय तथा स्वदेश र विदेशका विभिन्न धर्म, जाति र समुदायबाट आर्थिक सहयोग जुटाउने दीर्घकालीन लक्ष्य रहेको अनोमा नेपालको दाबी छ।

तस्बिर  :   बुद्धजन्म स्थल लुम्विनीको बृहत् परिक्रमाको डीपीआर तयार योजनालाई अघि बढाउन  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा  मन्त्री बद्री प्रसाद पाण्डे लगायत   ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak