परासी, नवलपरासी। पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको नेपाल नेत्रज्योति संघअन्तर्गतको डा. विनोद निता कँडेल आँखा अस्पतालले एक वर्षको अवधिमा ५३ हजारभन्दा बढी मानिसहरूको आँखा परीक्षण गरेको छ। अस्पतालका अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा ओपीडी सेवा, उपकेन्द्रहरू, विद्यार्थी आँखा जाँच कार्यक्रम र शिविरहरूमार्फत कुल ५३,६६६ जनाले सेवा लिएका छन्।
सेवा र शल्यक्रियाको विस्तार
अस्पतालको तथ्याङ्कअनुसार, गत वर्ष मात्रै ३७,६३२ जनाले ओपीडी सेवा लिएका थिए। यसका अतिरिक्त सुनवल, सरावल, प्रतापपुर र सुस्तामा रहेका चार उपकेन्द्रहरूबाट २,६२९ जनालाई सेवा प्रदान गरिएको छ। अस्पतालले विभिन्न स्थानमा आयोजना गरेको निःशुल्क शिविरमार्फत ५,५८८ जनाको आँखा परीक्षण गर्नुका साथै १,४०० जनाको मोतियाबिन्दुको शल्यक्रिया सम्पन्न गरेको छ।
अस्पतालमा १,४८९ जनाको मेजर शल्यक्रिया र ६७ जनाको माइनर शल्यक्रिया पनि गरिएको छ। अस्पतालका सूचना अधिकारी धिरेन्द्र कुमार साहानीले यस अस्पतालले पश्चिम नवलपरासीसहित पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु र भारतबाट समेत आउने सेवाग्राहीलाई सेवा दिँदै आएको जानकारी दिए।
विद्यार्थी र समुदायमा विशेष कार्यक्रम
विद्यालय लक्षित विद्यार्थी आँखा जाँच कार्यक्रम पनि प्रभावकारी बनेको छ। यस कार्यक्रमअन्तर्गत ७,३४६ जना विद्यार्थीको आँखा परीक्षण गरिएको थियो र जसमध्ये ३७० जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको अस्पतालका वरिष्ठ नेत्र सहायक एवं बाह्य कार्यक्रम संयोजक राधिका यादवले बताउनुभयो।
अस्पतालले स्थानीय तहसँगको सहकार्यमा ४७१ जना नागरिकलाई निःशुल्क सेवा प्रदान गरेको छ। यसमा सबैभन्दा धेरै बर्दघाट नगरपालिकाका १७८ जना, सुनवल नगरपालिकाका १०६ जना, सरावल गाउँपालिकाका १०३ जना र रामग्राम नगरपालिकाका ८४ जना रहेका छन्।
वि.सं. २०४५ मा स्थापना भएको यो अस्पतालले आँखा जाँच, मोतियाबिन्दु, जलविन्दु, आँखामा मासु पलाउने, परेलाको समस्या लगायतका शल्यक्रिया, आकस्मिक सेवा र औषधि सेवा पनि प्रदान गर्दै आएको छ। साथै, शिक्षक तथा महिला स्वयंसेविकाहरूलाई प्राथमिक आँखा स्वास्थ्य तालिम र समुदायमा आँखा रोगसम्बन्धी जनचेतना फैलाउने कार्यक्रम पनि सञ्चालन भइरहेको छ।
प्रतिक्रिया