Developed By Kuldeep Sharma

July 31, 2025

प्रशासनिक भवन र स्वास्थ्य चौकी निर्माण : सेवा प्रवाहमा सुधार आउने अपेक्षा

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले करिब १२ करोड रुपैयाँको लागतमा अत्याधुनिक प्रशासनिक भवन र करिब १ करोड ५० लाख रुपैयाँको लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ। यी दुई महत्त्वपूर्ण पूर्वाधारले गाउँपालिकाको सेवा प्रवाहलाई अझ सुदृढ र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवका अनुसार, यी दुई भवनको निर्माण प्रतापपुर गाउँपालिकाका लागि  महत्त्वपूर्ण उपलब्धि हो। “यसले गाउँपालिकाको सेवा प्रवाहलाई अझ चुस्त, दुरुस्त र जनमैत्री बनाउनेछ।

यसअघि भाडाको घरबाट सेवा दिँदै आएको गाउँपालिकाले अब आफ्नै स्थायी र व्यवस्थित भवनबाट सेवा दिन सक्नेछ। यसबाट सेवाग्राहीलाई एकै ठाउँमा सबै सेवा लिन सहज हुनेछ भने कर्मचारीका लागि पनि काम गर्ने वातावरण थप अनुकूल बन्नेछ। अध्यक्ष यादवले प्रशासनिक भवन गाउँपालिकाको मुख्य पूर्वाधार भएकाले जनप्रतिनिधि आएपछि यसलाई प्रमुख प्राथमिकतामा राखेर निर्माण गरिएको जानकारी दिनुभयो।

प्रतापपुर स्वास्थ्य चौकीको नयाँ भवन निर्माणले गाउँपालिकाभित्रै आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरी गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ। यस भवनमा बिरामी जाँच कक्ष, परामर्श कक्ष, सामान्य उपचारका लागि आवश्यक पूर्वाधारलगायतका कक्षहरू व्यवस्थित रूपमा निर्माण गरिएका छन्। यसबाट स्थानीय बासिन्दाले सामान्य उपचार र प्राथमिक स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य हुनेछ र गाउँपालिकामै सर्वसुलभ स्वास्थ्य सेवा पाउनेछन्।

यी दुई महत्त्वपूर्ण पूर्वाधारको निर्माणले गाउँपालिकाको प्रशासनिक कार्यप्रवाहलाई थप सहज र प्रभावकारी बनाउनुका साथै स्वास्थ्य सेवामा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास प्रतापपुर गाउँपालिकाले लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak