Developed By Kuldeep Sharma

July 17, 2025

प्रतापपुरमा ‘जनताको घरदैलो’ अभियान: अध्यक्ष यादवसहितको टोली जनताका माझ


प्रतापपुर, : प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव सहितको जनप्रतिनिधि टोलीले ‘जनताको घरदैलो’ अभियानको सुरुवात गरेको छ। यस अभियानमार्फत विगत तीन वर्षमा गाउँपालिकाले गरेका कामहरूको जानकारी गराइनेछ भने आगामी दिनमा गरिनुपर्ने कार्यबारे पनि जनतासँग प्रत्यक्ष छलफल गरिनेछ।

जनताको गुनासो सुन्न, सुझाव लिन र गाउँपालिकाको विकासमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न यो अभियान महत्वपूर्ण मानिएको छ। अध्यक्ष यादवसँगै उपाध्यक्ष मानकुमारी चौधरी, वडा अध्यक्षहरू र सम्पूर्ण वडा सदस्यहरू पनि यस अभियानमा सहभागी हुनुहुनेछ।

अध्यक्ष यादवले यस अभियानको मुख्य उद्देश्य विगतका प्रतिबद्धताहरूको समीक्षा गर्दै कामगराइमा भएका कमीकमजोरी र मानवीय त्रुटिहरूको आलोचनात्मक विश्लेषण गर्नु रहेको बताउनुभयो। साथै, अब उप्रान्त प्रतापपुर गाउँपालिकाको समग्र विकासका लागि थप परिष्कृत योजनाहरू बनाउन जनताका राय, सुझाव र सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ छ।साउन मसान्तसम्म चल्ने यो अभियानअन्तर्गत टोलीले प्रतापपुर गाउँपालिकाका जमुनिया, शान्तिटोल, सीसहनिया, कजड़हिया लगायत सम्पूर्ण गाउँटोलमा पुग्ने कार्यक्रम रहेको छ।

गाउँपालिकाले यस क्रममा कार्यालयमा भौतिक अनुपस्थितिका कारण पर्न सक्ने असुविधाप्रति क्षमाप्रार्थी रहेको जानकारी दिँदै, प्रतापपुरको समुन्नति र प्रगतिका लागि यो अभियान एउटा महत्वपूर्ण कदम साबित हुने विश्वास व्यक्त गरेको छ।यस अवधिमा अत्यावश्यक कामबाहेक जनप्रतिनिधिहरू कार्यालयमा उपलब्ध नहुने र जनतासँग प्रत्यक्ष भेटघाटमा जुट्ने गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak