सुनवल नगरपालिकाद्वारा बजार अनुगमन, सडेको मासुसहित म्याद गुज्रेका सामग्री जफत
पश्चिम नवलपरासी, : सुनवल नगरपालिकाको बजार अनुगमन समितिले सुनवलका वडा नं १, ३ र ५ का बजार क्षेत्रमा अनुगमन गरेको छ। अनुगमनका क्रममा सडेको मासु, बिना लेबलका घिउ, विषादी र म्याद गुज्रेका औषधि जफत गरिएको छ।
बजार अनुगमन समितिकी संयोजक सिता तिमिल्सिनाको नेतृत्वमा भएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, वडा नं १ का अध्यक्ष मन बहादुर थापा, पशु रोग अन्वेषण प्रयोगशाला परासीका वरिष्ठ पशु चिकित्सक भरत काफ्ले, सुनवल नगरपालिका आर्थिक विकास समिति संयोजक सिता भण्डारी, प्रशासकीय अधिकृत खेमराज ढकाल, पशु शाखा प्रमुख मिश्रि प्रसाद खड्का, उद्योग वाणिज्य संघ सुनवलका वाणिज्य प्रतिनिधी हरी प्रसाद न्यौपाने, उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष बिष्णु प्रसाद पौडेल र नगर निरीक्षक दिपक तिवारी लगायतको उपस्थिति थियो।
आजको अनुगमनमा विशेषगरी मासु पसल, दुग्ध डेरी र भेटनरी पसलहरूमा केन्द्रित गरिएको थियो। अनुगमनका क्रममा कानुन विपरीत कार्य गर्ने व्यवसायीहरूलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ।
सुनवल वडा नं ५ मा रहेको फिरोज मासु पसलबाट ८ केजी सडेको बोकाको खुट्टा जफत गरिएको छ। यसका साथै, तौलमा कम देखिएको ढक पनि जफत गरिएको छ। अनुगमन टोलीले विभिन्न पसलबाट बिना लेबल र इजाजत बेगर बिक्रीका लागि राखिएका घिउ, विषादी र म्याद गुज्रेका औषधिहरू समेत जफत गरेको जनाइएको छ।
नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया