नवलपरासी, नेपालमा थारु मिलन केन्द्र नेपाल र उपदान कलेक्सन सेन्टर मिलेर पश्चिम नवलपरासीका सामुदायिक विद्यालयहरूमा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गर्दै आएका छन्।
यसै क्रममा, आज सरावल २ दगीयास्थित जनता आधारभूत विद्यालयका ४३ जना विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
सामग्री वितरण समारोहमा प्रमुख अतिथि एवं उपदान कलेक्सन सेन्टरकी दाता निसा योगीले विद्यार्थीहरू भविष्यका कर्णधार भएकाले उनीहरूलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरेको बताउनुभयो।
कार्यक्रममा थारु मिलन केन्द्र नेपाल र उपदान कलेक्सन सेन्टरका सदस्य तथा सरावल गाउँपालिकाका पूर्वअध्यक्ष राधेश्याम चौधरीले संस्थाले सामुदायिक विद्यालयमा गरिब र विपन्न समुदायका विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो।
थारु मिलन केन्द्रका संयोजक देवानन्द सिंह फौजदारले गरिब र विपन्न समुदायका बालबालिकालाई अध्ययनमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यस्ता कार्यहरू गरिएको स्पष्ट पार्नुभयो।
संस्थाले यसअघि पश्चिम नवलपरासीको सरावल–१, पथरहियास्थित श्री सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई पनि पोशाक तथा शैक्षिक सामग्री वितरण गरिसकेको छ। केन्द्रले अन्य सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पनि पोशाक तथा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ।
प्रतिक्रिया