Developed By Kuldeep Sharma

July 8, 2025

मन्त्री राणाको लुम्बिनीभरि खानेपानी पुर्‍याउने प्रतिबद्धता

पुरुषोत्तम सुबेदी

लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले प्रदेशका सबै घरमा सफा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


मन्त्री राणाको लुम्बिनीभरि खानेपानी पुर्‍याउने प्रतिबद्धता

प्यूठानमा योजना अनुगमनका क्रममा बोल्दै, लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री एवं नेपाली कांग्रेसका युवा नेता रोज राणाले प्रदेशका सबै जिल्लामा खानेपानी र शहरी विकासका योजनाहरू समानुपातिक रूपमा वितरण गरिएको बताउनुभएको छ। उहाँले जनताको घरघरमा शुद्ध खानेपानी पुर्‍याउनु आफ्नो मुख्य लक्ष्य भएको स्पष्ट पार्नुभएको छ।

मन्त्री राणाले पहाडी र तराईका विकट तथा ग्रामीण बस्तीहरूमा पुगेर जनताका समस्या र गुनासो सुन्नुभएको र त्यसको समाधानका लागि द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, “खानेपानी समस्या समाधान मेरो पहिलो प्राथमिकता हो। योजना बनाउनु मात्र होइन, कार्यान्वयनमा पनि म गम्भीर छु।” उहाँले लुम्बिनी प्रदेशका सबै जिल्लामा खानेपानी योजनाहरूलाई प्राथमिकताका साथ अगाडि बढाइएको र बाँकी आयोजनाहरू पूरा गर्न बजेट विनियोजन भइसकेको बताउनुभएको छ।

आफ्नो गृह जिल्ला प्यूठानमा मात्रै २ अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको उल्लेख गर्दै मन्त्री राणाले यो आफूसँग भएको सामान्य जिम्मेवारी भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “प्यूठानमा पैसाको मात्रा कम परेको भनेर खुसी हुने होइन, अब सबै मिलेर समृद्ध प्यूठान बनाउन लाग्नुपर्छ।”

उहाँले विकासका काममा अनियमितता हुन नदिन स्थानीय नागरिकलाई सचेत र साथमा रहन आग्रह गर्दै भन्नुभयो, “जनप्रतिनिधिहरू विकासका स्पष्ट योजना लिएर अघि बढ्नुपर्छ। गलत भाष्य सिर्जना गरेर विकास अवरुद्ध गर्नु हुँदैन।”

प्यूठानलाई प्रदेशकै नमुना जिल्ला बनाउने अभियानमा लाग्ने दृढता व्यक्त गर्दै मन्त्री राणाले आगामी दिनहरूमा जनताको साथ र समर्थनले कामलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय जनताले मन्त्री राणाको सक्रियता र योजनाहरूको कार्यान्वयनप्रति धन्यवाद दिँदै चुनावी प्रतिबद्धता पूरा गरेको भन्दै प्रशंसा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak