लुम्बिनी प्रदेश सरकार पर्यावरण संरक्षण र दिगो विकासका लागि प्रतिबद्धस् मन्त्री कलवार
7 Shares
लुम्बिनी प्रदेश सरकार पर्यावरण संरक्षण र दिगो विकासका लागि प्रतिबद्धस् मन्त्री कलवार
पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी , असार २१ गते । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय देवकरण प्रसाद कलवारले प्रदेश सरकार सधैँ पर्यावरण संरक्षण र दिगो विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२, कुमारवर्ती सामुदायिक वनमा आज आयोजित ४ हेक्टर वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै मन्त्री कलवारले यस्तो विचार व्यक्त गर्नुभएको हो।मन्त्री कलवारले सामुदायिक वनहरूको सशक्तीकरण र वनमा आधारित जीविकोपार्जनका अवसरहरू सिर्जना गर्न प्रदेश सरकार र वन तथा वातावरण मन्त्रालय तत्पर रहेको जानकारी दिनुभयो। उहाँले स्थानीय समुदायको सहभागिता नै वन संरक्षणको मेरुदण्ड भएकोमा जोड दिनुभयो।
वृक्षारोपणले वातावरण सन्तुलन, माटोको कटाव रोकथाम र जैविक विविधता संरक्षणमा मद्दत गर्दछ, मन्त्री कलवारले भन्नुभयो, यस्ता पहलहरूले स्थानीय समुदायलाई प्रेरित गरी दिगो पर्यावरणीय अभ्यासलाई बढावा दिने अपेक्षा गरिएको छ।
उहाँले वृक्षारोपणलाई वातावरण संरक्षणको महाअभियानमा एउटा महत्त्वपूर्ण कदम भएको बताउनुभयो। यो केवल बिरुवा रोप्ने कार्यक्रम मात्र होइन, यो हाम्रो भविष्य रोप्ने कार्य हो, मन्त्री कलवारले थप्नुभयो।
उहाँले स्वच्छ हावा, शुद्ध पानी र स्वस्थ माटो बिना मानव जीवन सम्भव छैन। तर, बढ्दो जनसङ्ख्या र अव्यवस्थित विकासका कारण वातावरणमाथि ठूलो चुनौती आइपरेको उहाँले औंल्याउनुभयो। वन विनाश, जलवायु परिवर्तन र जैविक विविधताको ह्रासले सबैलाई सचेत गराएको भन्दै उहाँले यस्तो अवस्थामा वृक्षारोपण कार्यक्रमको महत्त्व झनै बढेको बताउनुभयो।
तस्बिर
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२, कुमारवर्ती सामुदायिक वनमा आज आयोजित ४ हेक्टर वृक्षारोपण कार्यक्रममा सहभागी लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री, देवकरण प्रसाद कलवार।
प्रतिक्रिया