Developed By Kuldeep Sharma

July 4, 2025

प्यूठानमा विकासको मूल फुटाउन आएको छु: मन्त्री सरोज थापा

: लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले आफू प्यूठानमा सपना बाँड्न नभई विकासको मूल फुटाउन आएको बताएका छन्। मन्त्री थापाले आफू सांसद र मन्त्री केवल पदका लागि मात्र नभई प्यूठानवासीको सुखदुःखमा साथ दिन र जिल्लाको विकास तथा समृद्धिका लागि काम गर्ने योजनाका साथ आएको स्पष्ट पारे। उनले जिल्लाको विकासका लागि विशेष संयन्त्र बनाउन लागिएको समेत जानकारी दिए।


 

विकासमा पछाडि परेको प्यूठानको समृद्धिको लागि प्रतिबद्ध

 

मन्त्री थापाले प्रदेशका अन्य जिल्लाको तुलनामा प्यूठान विकासमा पछाडि परेको स्वीकार गर्दै जिल्लाको विकासका लागि निरन्तर काम गरिरहेको बताए। नेपाल पत्रकार महासंघ प्यूठानले शुक्रबार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस वर्ष प्यूठान जिल्लामा विगतका वर्षहरूभन्दा बढी विकास बजेट आएको दाबी गरे।

सामाजिक सञ्जालमा बजेट नपरेको भनी भइरहेको दुष्प्रचार निराधार रहेको भन्दै उनले प्यूठान जिल्लामा २ अर्ब ४८ करोड ६२ लाख ५० हजार रुपैयाँ बजेट परेको जानकारी दिए। मन्त्रालयअन्तर्गतका केही बजेट दाङको शहरी विकास डिभिजन र कोहलपुरको पर्यटन डिभिजनअन्तर्गत रहने उनले प्रष्ट पारे। उनले प्रदेशको बजेटबारे सामाजिक सञ्जालमा हतारमा टिप्पणी गरिएकोमा गुनासो पनि गरे।


खानेपानी समस्या समाधान र योजना अनुगमनमा जोड

 

मन्त्री थापाले खानेपानीको समस्या समाधान गर्न प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताए। प्रदेशका १२ वटै जिल्लामा अधुरा रहेका खानेपानी योजनाहरू सम्पन्न गर्नका लागि प्रदेश सरकारले ७७ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए।

उनले प्रदेश सरकारले अघि सारेका योजनाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन संयन्त्र बनाउनुपर्नेमा जोड दिए। यसका लागि तयारी भइरहेको र गुणस्तरीय योजना निर्माणका लागि समुदायस्तरबाट पनि सहयोगको अपेक्षा गरिएको उनले बताए। प्रदेश सरकारका केही योजनाहरू अलपत्र परेको उल्लेख गर्दै उनले समयमै योजना सम्पन्न गर्न र गुणस्तरीयता कायम गर्न अनुगमन गरिने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak