Developed By Kuldeep Sharma

August 5, 2025

उखु किसान आन्दोलित जारी, अनुदान रकम बढाउन माग

उखु बालीमा सरकारले दिँदै आएको अनुदान रकममा कटौती गरेपछि तराई-मधेसका १३ जिल्लाका उखु किसानहरूको आन्दोलित जारी छ । आर्थिक वर्ष २०८१/०८२ को उखु क्रसिङबापतको अनुदान रकम पुरानै दरमा उपलब्ध गराउनुपर्ने माग गर्दै उनीहरूले चरणबद्ध आन्दोलन थालेका हुन्।

दोस्रो चरणअन्तर्गत   चिनी उद्योगअगाडि टायर बालेर प्रदर्शन गरेका छन । यदि मागहरू पूरा नभए भदौ ८ गतेदेखि काठमाण्डौँको माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम गर्ने चेतावनीसमेत दिइएको छ।

नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवका अनुसार, देशभरका १३ जिल्लाका किसानहरूले चिनी उद्योगमा उपलब्ध गराएको उखुको कुल १ अर्ब ६० करोड रुपैयाँ अनुदान रकम सरकारले भुक्तानी गर्न बाँकी छ।

यसअघि सरकारले उखुको प्रति क्विन्टल मूल्य रु. ६५५ तोकेको थियो, जसमा चिनी उद्योगले रु. ५८५ र सरकारले रु. ७० अनुदान दिने व्यवस्था थियो। तर, बजेट अभाव देखाउँदै सरकारले अनुदान रकम आधा घटाएर प्रति क्विन्टल रु. ३५ मा झारेको छ। किसानहरूले यो रकम अस्वीकार गर्दै पुरानै रु. ७० नै कायम गर्न माग गरेका छन्।

आन्दोलनका कार्यक्रम अनुसार  यस अगाबै पहिलो चरणमा १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएर ध्यानाकर्षण गराइएको थियो’

अनुदान रकम उपलब्ध गराउन थालेपछि उत्साहित भएर उखु खेती विस्तार गरेका किसानहरू पछिल्लो समय रकम कटौती भएपछि पलायन हुने अवस्थामा पुगेको संयोजक यादवले बताउनुभयो। पश्चिम नवलपरासीमा मात्रै आर्थिक वर्ष २०८१/०८२ मा २३ लाख ९० हजार क्विन्टल उखु क्रसिङ भएको थियो, जसबापत किसानहरूले रु. ७० का दरले कुल १६ करोड ७३ लाख अनुदान रकम पाउनुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak