Developed By Kuldeep Sharma

August 5, 2025

रामग्राममा मेयर छात्रवृत्ति: २५० विपन्न विद्यार्थीलाई निःशुल्क पठनपाठन

रामग्राम (पश्चिम नवलपरासी): रामग्राम नगरपालिकाले नगरभित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी मेयर छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रम अन्तर्गत नगरका २३ वटा निजी विद्यालयमा २५० जना विद्यार्थीले कक्षा ४ देखि ११ सम्म निःशुल्क पढ्न पाउनेछन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नगरपालिकाबीच भएको सम्झौतापछि चालू शैक्षिक सत्रबाट यो कार्यक्रम लागू भएको नगर प्रमुख धनपत यादवले बताउनुभयो। यो पहलले निजी विद्यालयहरूलाई उनीहरूको सामाजिक उत्तरदायित्व बहन गर्न प्रोत्साहित गरेको उहाँले उल्लेख गर्नुभयो।

छात्रवृत्तिका लागि कूल ७५० जनाले आवेदन दिएका थिए। नगरपालिकाले तोकेको मापदण्डका आधारमा परीक्षा लिई गरिब, विपन्न, जेहेन्दार, सीमान्तकृत समुदायका र सहिद परिवारका बालबालिकाहरूलाई छनौट गरिएको थियो। एक कार्यक्रममा छनौट भएका विद्यार्थीहरूलाई प्रमाणपत्र र शैक्षिक सामग्री वितरण गरिएको छ।

oplus_2097184

नगर प्रमुख यादवले सामुदायिक विद्यालयलाई कमजोर बनाउने हल्ला निराधार भएको बताउँदै यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले यस कार्यक्रमले गरिब परिवारका बालबालिका पनि निजी विद्यालयमा पढ्न सक्छन् भन्ने उदाहरण पेस गरेको बताउनुभयो।

प्याब्सनका रामग्राम नगर अध्यक्ष बलिराम यादवले नगरको शैक्षिक सुधार अभियानमा निजी विद्यालयको तर्फबाट यो सहयोग गरिएको जानकारी दिनुभयो। यसैगरी, प्याब्सनका केन्द्रीय सल्लाहकार सुमनगोपाल आचार्यले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा थप ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

नगरपालिकाका शिक्षा अधिकृत सुन्दर खनालका अनुसार छनौट प्रक्रिया पारदर्शी र मापदण्डमा आधारित थियो, जसले गर्दा सही विद्यार्थीले अवसर पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak