Developed By Kuldeep Sharma

August 1, 2025

स्वास्थ्य मन्त्री खेम सारुद्वारा स्वास्थ्य संस्थाको निरीक्षण

 

(पश्चिम नवलपरासी): लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले पश्चिम नवलपरासीका विभिन्न स्वास्थ्य संस्थाको निरीक्षण गर्नुभएको छ। उहाँले बर्दघाट नगरपालिकामा रहेका चिसापानी अस्पतालशहीद स्मृति अस्पताल चौपत्ता को अनुगमन गर्नुभयो। त्यसैगरी, उहाँले सुस्ता–५ स्थित निर्माणाधीन स्वास्थ्य इकाई केन्द्रको पनि स्थलगत अनुगमन गर्नुभयो। माननीय स्वास्थ्य मन्त्री खेम बहादुर सारुको प्रमुख आतिथ्यतामा प्रतापपुर गाउँपालिकामा रहेका गर्भवति महिलाहरुलाई निशुल्क RoUSG(भिडियो एक्स रे) सेवा समुद्घाटन गर्नुभयो।  यसका साथै, मन्त्री सारुले प्रतापपुरमा रहेको महिला स्वास्थ्य सेवा केन्द्रलाई एक थान भिडियो एक्सरे मेसिन पनि हस्तान्तरण गर्नुभयो।

स्वास्थ्य संस्थाहरूको निरीक्षणपछि मन्त्री सारुले सबै स्वास्थ्य संस्थाहरूमा आवश्यकताअनुसार उपकरण र जनशक्तिको व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। अनुगमनका क्रममा बर्दघाटका नगरप्रमुख शम्भुलाल श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गर्न मन्त्रीसँग आग्रह गर्नुभएको थियो।

त्यसको जवाफमा मन्त्री सारुले चिसापानी अस्पतालका लागि दुई जना एमबीबीएस चिकित्सक (मेडिकल अधिकृत) र शहीद स्मृति अस्पतालका लागि एक   सी-आर्म मेसिन र एक डीआर सिस्टमको एक्स-रे मेसिन  उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगरप्रमुख श्रेष्ठले नागरिकलाई नगरमै गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रदेश र सङ्घीय सरकारसँग विगतदेखि नै उपकरण र जनशक्ति माग गर्दै आएको बताउनुभयो। चिसापानी अस्पतालमा हाल दैनिक १५० जनाले सेवा लिने गरेको अस्पतालका जनस्वास्थ्य अधिकृत रमेश न्यौपानेले जानकारी दिनुभयो।

यसैगरी, चौपत्तामा रहेको शहीद स्मृति सामुदायिक अस्पतालले मुख्यगरी प्रतापपुर सुस्ता र बर्दघाट नगरपालिकाका स्थानीयलाई सेवा दिँदै आएको छ। उक्त अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको छ। अस्पताल व्यवस्थापन समितिका सदस्य युवराज डुम्रेले प्रदेश सरकारले उपकरण उपलब्ध गराएमा बिरामीलाई सहज र गुणस्तरीय सेवा दिन सकिने जानकारी दिनुभयो।

तस्बिर

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु बर्दघाट नगरपालिकामा रहेका चिसापानी अस्पतालको अनुगमन गर्दै   ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु  प्रतापपुरमा रहेको महिला स्वास्थ्य सेवा केन्द्रलाई एक थान भिडियो एक्सरे मेसिन  हस्तान्तरण गर्दै   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By jhalak