नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), : प्रतापपुर गाउँपालिकाले गण्डकी नदी बेसिनमा वन्यजन्तुबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न र बाढी प्रभावित क्षेत्रमा सम्भावित दुर्घटनाबाट बच्न उच्च सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवालाहरूलाई आग्रह गरेको छ।
गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवद्वारा हस्ताक्षरित एक सूचनामा भनिएको छ कि पछिल्लो समय गण्डकी नदी बेसिनमा वन्यजन्तुका कारण धनजनको क्षति बढ्दै गएकोमा गम्भीर ध्यानाकर्षण भएको छ। विशेषगरी वर्षायाम सुरु भएसँगै नदीमा पानीको बहाव बढ्ने हुँदा बाढी प्रभावित क्षेत्रहरूमा जोखिम बढेको उल्लेख छ।
सूचनामा गैयबस्त-चौराहा, माछा मार र पिठडी खेल जस्ता क्षेत्रहरूमा सडकको दुरवस्था र पुलहरूको जीर्ण अवस्थाका कारण दुर्घटनाको उच्च सम्भावना रहेको औंल्याइएको छ। यी क्षेत्रहरूमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन र उच्च सतर्कताका साथ यात्रा गर्न गाउँपालिकाले सबैलाई अनुरोध गरेको छ।
गाउँपालिकाले सबै सरोकारवाला निकाय र स्थानीय बासिन्दालाई सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन र विपद् व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।
प्रतिक्रिया