अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा

उपेन्द्रराज पाण्डेय | खोज पत्रकारिता केन्द्र

चर्चित बांग्लादेशी लेखिका तसलिमा नसरिनका प्रायः सबै कृतिका नेपाली अनुवाद बजारमा छ्यापछ्याप्ती पाइन्छन्। ती पुस्तकका अनुवादक, सम्पादक र प्रकाशक पनि अधिकांश नाम चलेकै व्यक्ति छन्। तसलिमा भन्छिन्, “नेपालीमा अनुवाद गरिएका मेरा कृति सबै नक्कली हुन्, त्यसो गर्न पाइँदैन।” यस्तो अनुवादको गुणस्तर पनि उदेकलाग्दो छ।

लेखक/प्रकाशकको अनुमति नलिई कुनै पनि कृतिको अनुवाद, पुनरुत्पादन गर्नु दण्डनीय अपराध हो। तर, तसलिमाका मात्र होइन विश्वका धेरै चर्चित पुस्तकहरूका अनधिकृत अनुवाद र पाइरेटेड (अनधिकृत प्रकाशन/पुनरुत्पादन गरिएका) पुस्तक नेपाली बजारमा सर्वत्र उपलब्ध छन्।

हामीसँग भएको ह्वाट्सएप कुराकानीमा भारत निर्वासनमा रहेकी तसलिमाले आफ्ना कुनै पनि पुस्तक नेपालीमा अनुवाद गर्न कसैलाई अधिकार नदिएको बताइन्। उनले भनिन्, “म कुनै पनि नेपाली प्रकाशकलाई चिन्दिनँ। न त कुनै प्रकाशकले अनुवादको अनुमति लिएका छन्। त्यस्ता पुस्तक सबै नक्कली र अनधिकृत हुन्।”

तस्वीरहरु: अङ्गद ढकाल

नेपालमा चर्चित विदेशी पुस्तकहरू छानी–छानी अनुवाद गरी प्रकाशन र बिक्री गर्ने धन्दा भने जारी छ।

पाइरेसी र अनधिकृत अनुवादका पुस्तकले सर्जक मात्र नभई पाठक समेत ठगिइरहेको फाइनप्रिन्टका प्रकाशक अजित बराल बताउँछन्। “चर्चामा रहेका अधिकांश अंग्रेजी र हिन्दी किताबहरू विना अनुमति अनुवाद भएका छन्” बराल भन्छन्, “यस्तो अनुवाद गुणस्तरीय पनि छैन। १२–१३ सय पेजका जीवनीहरू घटाएर २–३ सय पेजमा छापिएका छन्। बिल क्लिन्टनकै जीवनी त्यसरी छापिएको छ।”

विना अनुमति नेपालीमा अनुवाद भएको चर्चितमध्येको एक पुस्तक हो– वाल्टर आइजेक्सनले लेखेकोे स्टिभ जब्सको जीवनी। आइजेक्सनले लेखेको ‘स्टिभ जब्स’ को अनुवादको अधिकार क्रियटिभ आर्टिस्ट एजेन्सी (सीएए) सँग छ। अमेरिकामा मुख्यालय रहेको सीएएकी एसोसिएट एजेन्ट पेप्पा मिगनोनले हामीलाई पठाएको इमेलमा भनेकी छन्, “स्टिभ जब्सको नेपाली अनुवादका लागि हामीले कुनै नेपाली प्रकाशकसँग सम्झौता गरेका छैनौं। कसैले अनधिकृत अनुवाद गरेको भए कानूनी कारबाहीमा जान सक्छौं।”

यो पुस्तकको नेपाली अनुवाद पाँचपोखरी प्रकाशन गृहले बजारमा ल्याएको हो। पुस्तकमा अनुवादकको परिचय यसरी दिइएको छ— ‘अंग्रेजी साहित्यमा स्नातकोत्तर अच्युत कोइराला मूलतः पत्रकार हुन्। उनी हाल नागरिक दैनिकमा आबद्ध छन्। अन्तर्राष्ट्रिय इतिहास, राजनीति र संस्कृतिमा विशेष चासो राख्ने उनले आधा दर्जन नेपाली चलचित्रको पटकथा तथा संवाद लेखेका छन्। उनका एक दर्जनभन्दा बढी गैरआख्यान पुस्तक प्रकाशित छन्।’

स्टिभ जब्सको जीवनी विना स्वीकृति नै अनुवाद गरिएको स्वीकार्ने कोइराला आफूले अनुवाद मात्र नभई क्रियटिभ राइटिङ समेत गरेको दाबी गर्छन्। आफूले काम गरेको पहिलो बायोग्राफी ‘स्टिभ जब्स’ भएको सुनाउँदै उनले भने, “स्टिभ जब्सपछि भएका स्रोत–साधन उपयोग गरी बिल गेट्स, वारेन बफेट, नरेन्द्र मोदी लगायतका जीवनी लेखेको छु।”

पछिल्लो समय युवा पुस्तामा लोकप्रिय पुस्तक हो, रोबर्ट कियोसाकीको ‘रिच ड्याड, पुअर ड्याड’। हामीले खोज्दा यसका तीन थरी अनुवाद नेपाली बजारमा भेटिए– सबै अनधिकृत। ‘रिच ड्याड, पुअर ड्याड’ को दिलीपकुमार श्रेष्ठले गरेको अनुवाद पाँचपोखरी प्रकाशन गृहले छापेको छ। त्यस्तै ‘बुक फर अल’ नामक प्रकाशन गृहबाट प्रकाशित पुस्तक कोपिला एमडीले अनुवाद गरेकी छन्। ‘प्लाटा पब्लिकेसन, काठमाडौं’ को नामबाट समेत यो पुस्तकको अनुवाद प्रकाशित छ र, अनुवादकको नाम सुधीर दीक्षित राखिएको छ।

‘द रिच ड्याड कम्पनी, अमेरिका’ को अन्तर्राष्ट्रिय अधिकार हेर्ने रोन्सन टेलरले हामीसँग भएको इमेल कुराकानीमा भने, “हाम्रो पुस्तक निःशुल्क अनुवाद गर्ने र बेच्ने अधिकार कसैलाई दिइएको छैन। नेपाली भाषामा ‘रिच ड्याड, पुअर ड्याड’ बिक्री भइरहेको छ भने त्यो नक्कली पुस्तक हो।”

लेखक तथा अनुवादक वसन्त थापा पछिल्लो समय सहजै पैसा कमाउने उद्देश्यले जस्तो पायो त्यस्तै अनुवाद भइरहेको बताउँछन्। उनी भन्छन्, “चोरी गरेर छापिएका पुस्तकको अनुवाद कहाँ राम्रो हुन्छ र ! सक्कली किताब नपढेको पाठकलाई के–कति त्रुटि छ भन्ने थाहै हुँदैन।” अनुवाद पुनः सिर्जनाको काम भएको र यसलाई उत्कृष्ट बनाउन ठूलो मिहिनेत पर्ने उनको अनुभव छ।

तसलिमाका कृतिमाथि ज्यादती

तसलिमाको संस्मरणात्मक पुस्तक ‘उत्ताल हवा’ लाई खोजी प्रकाशन गृहले नेपालीमा ‘संघर्ष’ नाममा बजारमा ल्याएको छ। पुस्तकको आवरण पृष्ठमा ‘वाइल्ड विन्ड’ (अंग्रेजी अनुवाद) को आधिकारिक नेपाली संस्करण दाबी गरिए पनि यो फर्जी नै हो। यो पुस्तकको अनुवाद विकास बस्नेतले र सम्पादन भोगीराज चाम्लिङले गरेका हुन्। परिमार्जित संस्करणको सम्पादन चाहिं संगीत श्रोता (यामबहादुर क्षेत्री) ले गरेको पुस्तकमै उल्लेख छ।

‘उत्ताल हवा’ को दोस्रो भाग पनि ‘प्रेम र जीवन’ नाममा खोजी प्रकाशनले नै छापेको छ। अनुवादका लागि लेखकबाट अनुमति लिनुपर्ने बारे राम्रैसँग बुझेका प्रकाशक सुशील चालिसे तसलिमा नसरिनसँग सम्पर्क हुन सम्भव नभएको दाबी गर्दै अनुवादकले दिएको भरमा पुस्तक प्रकाशन गरेको बताउँछन्। अनुवादक बस्नेत पनि आफूले विना अनुमति नै तसलिमाको पुस्तक अनुवाद गरेको स्वीकार्छन्। “१०–१२ वर्षअघि कसले लिने कहाँबाट लिने थाहै थिएन”, उनले भने।

यद्यपि, नेपालमा २१ वर्ष अघिदेखि प्रतिलिपि अधिकार ऐन– २०५९ लागू छ। त्यसअघि प्रतिलिपि अधिकार ऐन– २०२२ थियो। १९१० सालमा जारी भएको मुलुकी ऐनमा समेत प्रतिलिपि अधिकार सम्बन्धी व्यवस्था थियो। अरूको पुस्तक विना स्वीकृति अनुवाद र प्रकाशन गर्ने काम यसै पनि अनैतिक त हुँदै हो।

त्यस्तै, इन्डिगो इन्क प्रालिले तसलिमाको ‘नो कन्ट्री फर वुमेन’ निबन्ध संग्रहलाई ‘आइमाईको कुनै देश छैन’ शीर्षक दिएर प्रकाशन गरेको छ। यो पुस्तकको अनुवाद कृष्ण गिरी र सम्पादन प्रमोद प्रधानले गरेका हुन्। बालसाहित्यकार प्रधान भन्छन्, “अनुवादक र प्रकाशकबीच सम्झौता भएर उनीहरूले के–के गरे मलाई थाहा छैन। मलाई त पाण्डुलिपिमा भाषा हेर्दिनु भनेकाले हेरेको हुँ।”

इन्डिगो इन्कका प्रकाशक विष्णुकुमार पौडेल भने अझै पनि अनुवादको अधिकार लिने प्रयास जारी रहेको दाबी गर्छन्। उनी भन्छन्, ‘धेरै पहिला हामीले उक्त पुस्तक अनुवाद गरेका हौं। अनुमति लिने प्रयास जारी छ।’

इन्डिगोले अल बुक स्टोर प्रालि, बुक फर अल र प्लाटा पब्लिकेशनका नाममा पनि पुस्तकको अनधिकृत अनुवाद र प्रकाशन गर्दै आएको छ। इन्डिगोले बुक फर अल र प्लाटा पब्लिकेसनका  नामबाट ‘रिच ड्याड, पुअर ड्याड’ को नेपाली अनुवाद ‘धनी बुबा, गरिब बुबा’ शीर्षकमा दुई थरी अनुवाद प्रकाशन गरेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार प्लाटा पब्लिकेशन, काठमाडौं भन्ने कुनै पनि प्रकाशन गृह नेपालमा दर्ता छैन।

साहित्यकार प्रधानका अनुसार विदेशी भाषाका धेरै पुस्तक विना अनुमति नेपालीमा अनुवाद गरिएका छन् र यस्ता पुस्तकको गुणस्तर राम्रो छैन। मूल भाषाबाट नभई अनुवाद भएका दोस्रो/तेस्रो भाषाबाट नेपालीमा उल्था  गरिंदा त्यस्ता पुस्तकमा निकै समस्या देखिएको उनले बताए। “नेपाली प्रकाशकहरूले अनुमति नलिई अनुवाद गर्ने भएकाले मैले त्यस्ता पुस्तकको सम्पादन गर्न छाडेको छु”, प्रधानले भने।

तसलिमाका अन्य तीन पुस्तक ‘निर्वासन’, ‘फ्रान्सेली प्रेमी’ र ‘बिग्रेकी केटी’ शीर्षकमा पाइथागोरस बुक्सले छापेको छ जसको प्रमुख वितरक न्यूरोडस्थित पाँचपोखरी बुक्स हो। ‘फ्रान्सेली प्रेमी’ र ‘बिग्रेकी केटी’ विवेक शर्मा र ‘निर्वासन’ देवेन्द्र नेपालीले अनुवाद गरेका हुन्।

तसलिमाकै ‘चार कन्या’ बाट नेपालीमा अनुवाद भएको पुस्तक ‘प्यासभित्रको विद्रोह’ २०६५ सालमै विवेक सिर्जनशील प्रकाशन प्रालिले छापेको थियो। जसलाई महेन्द्र महकले अनुवाद गरेका थिए। त्यस्तै एशिया प्रकाशनबाट ‘बिग्रेकी केटी’ र जन(चेतना) प्रकाशनबाट ‘देशनिकाला’ प्रकाशित छन्।

शिव खेराको पुस्तक ‘यु क्यान विन’ को आधिकारिक नेपाली अनुवाद गरेको ब्लुम्सबरी इन्डियाले नेपालमा वितरणको जिम्मा एकता बुक्सलाई दिएको छ। यो पुस्तकको अनधिकृत अनुवाद समेत नेपाली बजारमा पाइन्छ जसमा प्रकाशक र अनुवादकको नाम उल्लेख छैन। हास्यास्पद त के छ भने, आफैंमा नक्कली यो पुस्तकमा ‘लेखककोे अनुमति विना पुस्तकको पूरै वा कुनै पनि अंश कुनै पनि माध्यमबाट पुनः मुद्रण गर्न पूर्णतः गैरकानूनी हुने’ लेखिएको छ।

अशुद्ध र कमजोर भाषा प्रस्तुति रहेको यही पुस्तकको अनधिकृत अनुवाद हुँदा अदालतमा मुद्दा परेको थियो। २०६६ सालमा प्रतिलिपि तथा आर्थिक अधिकार उल्लंघन विरुद्ध जिल्ला अदालत काठमाडौंमा जाहेरी परेपछि अदालतले त्यसै वर्ष मंसीर ११ गते फैसला सुनाउँदै प्रतिवादी नेत्रप्रसाद पोखरेललाई १० हजार, नारायणप्रसाद भुषाललाई २० हजार तथा भगवती रिसाल र विष्णु सिलवाललाई जनही ३० हजार रुपैयाँ जरिवाना गरेको थियो।

नेपाली बजार तुलनात्मक रूपमा सानो भएकाले अन्तर्राष्ट्रिय लेखक र प्रकाशकले प्रतिलिपि अधिकारबापत धेरै पैसा माग नगर्ने भए पनि त्यस्तो अनुमति लिन नेपालका प्रकाशकले प्रयासै नगरेको फाइनप्रिन्टका बराल बताउँछन्। भन्छन्, “अनधिकृत अनुवाद छापेर ५० प्रतिशतभन्दा बढी छूटमा बिक्री गर्नेहरूका कारण हामी जस्ता प्रकाशकलाई अप्ठेरो परेको छ।”

फाइनप्रिन्टले जोन वुडको ‘लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वल्र्ड’, मनिषा कोइरालाको ‘हिल्ड’ र पाउलो कोहेलोको ‘हिप्पी’ लगायतका विभिन्न कृतिको नेपालीमा आधिकारिक अनुवाद गरी बजारमा ल्याएको छ। फाइनप्रिन्टबाट निकट भविष्यमै इजरायली इतिहासविद् युभल नोआ हरारीको ‘स्यापियन्स : अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ नेपालीमा प्रकाशित हुँदैछ। दिनेश काफ्लेले अनुवाद गरेको उक्त पुस्तकको अनुवाद अधिकार १३०० अमेरिकी डलरमा लिएको बराल बताउँछन्। त्यस्तै सद्गुरुको ‘इनर इन्जिनियरिङ’ को अनुवाद अधिकार भारु ९३ हजारमा प्राप्त गरेको उनले जानकारी दिए।

बराल अनधिकृत अनुवाद र त्यसको प्रकाशनलाई अनैतिक र गैरकानूनी काम भन्छन्। “यसले भर्खरै मौलाउँदै गरेकोे नेपाली प्रकाशन उद्योगलाई धराशायी बनाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारमा नेपाललाई बदनाम समेत गराउँछ।”

लेखक तथा अनुवादक वसन्त थापा त विना स्वीकृति अनुवाद र सम्पादन गर्नेहरूलाई ‘भुईंफुट्टा’ भन्छन्। “हाम्रोमा कस्तो अनुवाद भइरहेको छ भनेर हेर्ने कुनै निकाय नै छैन। मूल कृतिसँग भिडाएर हेर्ने, जाँचपरख गर्ने कसैले गरेको छैन। अनुवादको गुणवत्ता बढाउनका लागि कुनै आधिकारिक संस्था चाहिन्छ”, उनी भन्छन्। विश्वविद्यालयहरू, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका सरोकारवाला संस्थाहरूले चाहेमा अनुवाद क्षेत्रलाई राम्रो बनाउन सक्ने थापाको बुझाइ छ।

एउटाको दुःख, अर्कोलाई मोज

लेखक सुकेतु मेहता मुम्बईमा यात्रा गरिरहेका थिए। ट्राफिक बत्तीमा गाडी रोकिएका बेला एउटा युवक पाखुराभरी किताब बोकेर आयो। उसले म्याक्सिमम सिटी को एउटा प्रति देखाउँदै सुकेतुलाई किन्न आग्रह गर्‍यो। सुकेतुले पुस्तक हेर्दै भने, “यो किताबको लेखक मै हुँ तर, यो त नक्कली प्रति हो।” युवकले अप्ठ्यारो नमानी जवाफ फर्कायो, “ठीकै छ, उसो भए तपाईंलाई छुट गरिदिउँला नि !”

पुस्तक पाइरेसी (अनधिकृत प्रकाशन/पुनरुत्पादन) को प्रभावबारे प्रतिक्रिया लिन खोज्दा न्यू योर्कको भासर कलेजका प्राध्यापक अमिताभ कुमारले उनका साथी सुकेतुको यो घटना इमेल मार्फत सुनाएका हुन्।

गत मार्च २५ मा भारतीय सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल कनवल जीतसिंह ढिल्लनले ट्वीट गरे— ‘मैले ८ हजार ७६० घण्टा लगाएर एउटा पुस्तक लेखें। १ करोड १० लाख पेज छापिंदासम्म २३६ जनाले काम गरे। तर, अनैतिक र गैरकानूनी रूपमा यो पुस्तक पाइरेसी भइरहेको छ। यस्तो पाइरेसीले लेखक, प्रकाशक र बिक्रेता सहित करीब १० हजार व्यक्तिको जीवनमा असर पुर्‍याएको छ।’

४० वर्षे सैनिक जीवनको अनुभव उल्लेख भएको ढिल्लनको पुस्तक ‘कितने गाजी आए, कितने गाजी गए’ गत फेब्रुअरीमा पेन्गुइन प्रकाशनले सार्वजनिक गरेको हो।

नेपालमा पनि पाइरेसीको धन्दा निकै मौलाएको छ। यस्ता अधिकांश पाइरेटेड किताब भारतबाटै भित्रिन्छन्। पाइरेसीको प्रत्यक्ष प्रभावमा लेखक, प्रकाशक, बिक्रेता र पाठक परिरहेका छन्।

पछिल्लो उदाहरण हो– बेलायती राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’। स्पेयर को बेलायती संस्करणकोे मूल्य २८ पाउन्ड छ।  पेन्गुइन इन्डियाले बजारमा ल्याएको दक्षिण एशियाली संस्करण हार्ड कभरको मूल्य १५९९ भारु तोकिएको छ।

तर, यो पुस्तकका पाइरेटेड कपी न्यूरोडतिरका पसलमा ५०० रुपैयाँमै पाइन्छ। पाइरेसी गरिएको पुस्तकमा मुद्रकको नाम बेलायतको क्लेज लिमिटेड उल्लेख छ। दक्षिण एशियाली संस्करणको छपाइ भने भारतको रेप्लिका प्रेसले गरेको हो। स्पेयर कै पाइरेसी गरिएको हार्ड कभर मूल्य ७०० रुपैयाँ तोकिएको छ।

यस्ता पुस्तकहरू दराज लगायतका विभिन्न अनलाइन प्लेटफर्मबाट समेत खुल्लमखुला बिक्री भइरहेका छन्। दराजले त जेम्स क्लियरको ‘एटोमिक ह्याबिट’ २३९ रुपैयाँमा घरमै पुर्‍याइदिन्छ। दक्षिण एशियाली संस्करणको मूल्य ७९९ भारू रहेको उक्त पुस्तकको पाइरेटेड कपी दराजकै प्लेटफर्मबाट बुक हेइस्टले २३९ रुपैयाँमा उपलब्ध गराएको छ।

अनलाइन माध्यमबाटै पाइरेसी गरिएका पुस्तकको व्यापार भइरहँदा सक्कली पुस्तक बिक्रेताको अप्ठ्यारो बढेको छ। जमलस्थित एजुकेसन बुक हाउसका सञ्चालक अञ्जन श्रेष्ठ भन्छन्, “हामी सक्कली किताब मगाएर बेच्छौं तर, पाइरेसीको बिगबिगीका बेला कतिपय ग्राहकले हामीमाथि पनि शंका गरिदिन्छन्। नक्कलीवालाले हामीलाई अप्ठ्यारोमा पारे।”

न्यूरोेडका एक पुस्तक बिक्रेताले आफैंले भारतबाट ‘सेकेन्ड कपी’ (अनधिकृत छपाइका) मगाउने गरेको बताए। हामी उनको पसलमा पुग्दा उनी नेपालमा आधिकारिक पुस्तक नै नआउने दाबी गर्दै ग्राहकलाई पाइरेटेड किताब बेचिरहेका थिए। “फरेन कपी त नेपालमा कहाँ आउँछ र सर ? महँगो पैसा तिर्दैमा ओरिजिनल हुने र सस्तोमा पाए डुप्लिकेट हुने होइन नि”, उनले ती ग्राहकलाई भनिरहेका थिए।

जेम्स क्लियरको ‘एटोमिक ह्याबिट’ ३५० रुपैयाँमा बेचिरहेका उनलाई एक जना ग्राहकले जमलको एक पसलबाट १२०० रुपैयाँमा किनेको भनेपछि उनको जवाफ थियो, “तपाईंलाई ठगेछ नि सर, हामी जम्मा ३५० रुपैयाँमा दिन्छौं।”

थापाथलीस्थित एकता बुक्स प्रालिका अध्यक्ष रामचन्द्र तिमोथी पुस्तक बजारमा देखिएका अवाञ्छित गतिविधिले नेपालको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत हुन थालेको बताउँछन्। उनी भन्छन्, “कुनै बेला बांग्लादेश पाइरेसी किङ भनेर चिनिन्थ्यो अब नेपालले त्यो ठाउँ ओगट्ने त होइन भन्ने चिन्ता छ।” बजारमा पाइरेसी गरिएका पुस्तक ठूलो मात्रामा आएपछि सरकारले पाउने राजस्व गुमाएको, लेखकले रोयल्टी नपाएको र पाठकले गुणस्तरीय पुस्तक पढ्न नपाएको उनले बताए।

उत्तरप्रदेशको साहिबावाद र बनारस साथै दिल्लीकै केही स्थानमा नेपालबाट प्राप्त अर्डरका आधारमा किताब छापेर पठाउने गरिएको साहिबावादस्थित भीएम बुक्सका सञ्चालक बताउँछन्। हामीसँगको फोन कुराकानीमा उनले काठमाडौंका केही वितरकलाई सक्कली र नक्कली दुवैखाले पुस्तक पठाइरहेको बताए। उनले भने, “मसँग ओरिजिनल र लोकल दुवै छन्। त्यही अनुसारको मूल्य छ।”

काठमाडौंको वितरक बनेर कुरा गर्दा दिल्लीको अजय बुक्सले पछिल्लो समयको बेस्ट सेलर भनिएको ‘एटोमिक ह्याबिट’ १४० भारतीय रुपैयाँमा दिन तयार भयो।

‘कर बढेसँगै पाइरेसी बढ्यो’

सरकारले आर्थिक वर्ष २०७६–७७ मा पुस्तक आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेसँगै नेपालमा पाइरेसी गरिएका पुस्तक भित्रिने क्रम बढेको पुस्तक बिक्रेताहरूको आरोप छ। यो निर्णयपछि पुराना बिक्रेताले आयातमा कटौती गर्न थालेको र बजारमा पाइरेटेड किताबका नयाँ कारोबारी भित्रिएको काठमाडौंका एक पुस्तक बिक्रेता बताउँछन्। तर, किताबमा करको चौतर्फी विरोध भएपछि उक्त व्यवस्था विष्णु पौडेल अर्थमन्त्री हुँदा हटाइयो।

“सरकारले किताब आयातमा कर लगाउन थालेपछि केही समय हामीले मगाउन छाड्यौं। करिब डेढ–दुई वर्ष किताबको आयात निकै कम भयो। त्यसपछि बजारमा पाइरेसी गरिएका सस्ता किताब आउन थाले”, एजुकेसन बुक्सका सञ्चालक अञ्जन श्रेष्ठ भन्छन्। त्यसैबेला हो, नेपाली बजारमा माग भएका बाराक ओबामा, मिसेल ओबामा, जय सेट्ठी लगायतका किताबको अनधिकृत छपाइका संस्करण नेपालमा छ्यापछ्याप्ती भएको।

त्यति मात्र होइन, रोल्ड ड्ह्याल र जेके रोलिङका बालसाहित्यका पाइरेटेड किताबले पनि यसैबेला नेपाली बजार ढाके। त्यो प्रचलन पछि झन् झांगिदै गएको छ।

विदेशी पुस्तकमा भन्सार कर नलाग्ने हुँदा भन्सार कार्यालयले नक्कली/सक्कली छुट्याउन चासो दिंदैन र पाइरेसी गरिएका किताब नेपाली बजारमा सहजै भित्रिरहेका छन्।

सरकारले विदेशी प्रकाशकद्वारा विदेशमै प्रकाशित पुस्तक तथा पत्रिका आयातमा भन्सार महसुलमा पूर्ण छूट दिएको छ। आयातकर्ताले भन्सारविन्दुमा ५६५ रुपैयाँ मात्र दस्तुर बुझाए पुग्छ। तर नेपाली प्रकाशन गृहले भारतमा छपाएर भित्र्याउने पुस्तकमा भने १० प्रतिशत कर तिर्नुपर्छ।

पाइरेसी नियन्त्रणका लागि सरकार, प्रकाशक–लेखक र पाठकबीच सहकार्य हुनुपर्ने अन्तर्राष्ट्रिय प्रकाशक संघ(आईपीए) का सञ्चार निर्देशक जेम्स टेलर बताउँछन्। भन्छन्, “सरकारहरूले प्रकाशकलाई प्रतिलिपि अधिकार उनीहरूमै सीमित छ भनेर मात्रै हुँदैन। पुस्तक प्रकाशन र पठन संस्कृतिको राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान छ भनेर बुझ्नुपर्छ।” पाइरेसी गरिएका छापा पुस्तक भेटिए तत्काल जफत गर्ने र ई–पुस्तक भेटिए वेबसाइट नै बन्द गरिदिने हो भने यसमा कमी हुने उनी बताउँछन्।

पेन्गुइन र्‍यान्डम हाउस इण्डियाका बिक्री, उत्पादन तथा व्यवसाय विकास विभागका कार्यकारी उपाध्यक्ष नन्दन झा भन्छन्, “पछिल्लो समय पाइरेसी पुस्तक बजारका लागि चुनौती बनेको छ। लेखक, प्रकाशक, प्रेस, वितरक र पाठक लगायत सरोकारवालाको समय, पैसा र मिहिनेत खेर गइरहेको छ।” हामीसँग भएको इमेल कुराकानीमा उनले भनेका छन्, “पाइरेसीको सामना गर्न सबै सरोकारवालाको सामूहिक प्रयत्नमा विशेष अभियान चलाउनुपर्छ।”

पुस्तक प्रकाशन जस्तो काममा नेपालमा कति बेथिति छ भने पाइरेटेड र नक्कली अनुवाद छाप्नेहरूले आईएसबीएन (अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्क नम्बर) समेत आफूखुशी राखेका छन् र त्यस्तो गर्नेलाई कतैबाट रोकतोक छैन।

आईएसबीएनले उक्त किताब कसले लेखेको हो, के बारेमा लेखेको छ, मूल्य कति हो इत्यादि जानकारी दिन्छ। यो नम्बर स्क्यान गर्दा वा इन्टरनेटमा सर्च गर्दा उक्त पुस्तक बारेको सबै विवरण देखिन्छ।

प्लाटा प्रकाशनका नाममा ‘रिच ड्याड, पुअर ड्याड’को अनधिकृत अनुवाद गर्ने प्रकाशन गृहले मूल स्वरुपकै आईएसबीएन नम्बर (९७८–१–६१२६८–११३–९) राखेको छ।

पाँचपोखरीबाट छापिएको पुस्तकमा राखिएको आईएसबीएन ‘९७८–९९३७–८७६२–४–७’ चाहिं यसअघि नै कृष्ण अधिकारीले लेखेको ‘अधिकारी वंशावली’ (आगम प्रकाशन) लाई दिइएको त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको आईएसबीएन शाखाकी अधिकृत उषा पुन बताउँछिन्। त्यस्तै ‘बुक फर अल’ ले पनि ‘धनी बुवा, गरीब बुवा’ पुस्तकमा राखेको आईएसबीएन (९७८–९९३७–८८२९–२–७) यसअघि पाठशाला पब्लिकेशनबाट प्रकाशित ‘एक्सपान्डिङ होराइजन इन इंग्लिस’ को हो।

त्रिवि पुस्तकालयका सूचना अधिकृत विजय शर्मा भन्छन्, “आफूखुशी आईएसबीएन राख्ने काम गैरकानूनी हो। उजुरी परेमा हामी कारबाही गर्न सक्छौं।”

के छ कानूनी व्यवस्था ?

नेपालको मुलुकी ऐन–१९१० मै पनि प्रकाशनलाई नियमन गर्ने कानुनी प्रावधान थियो । पछि कुनै पनि सामग्री प्रकाशनपूर्व गोर्खा भाषा प्रकाशिनी समितिको पूर्वस्वीकृति लिनुपर्थ्यो । २०२२ सालमा प्रतिलिपि अधिकार ऐन जारी भयो र २०५४ सालमा उक्त ऐनमा संशोधन भयो। २०५९ सालमा नयाँ ऐन जारी भयो। अहिले नेपालमा प्रतिलिपि अधिकार ऐन–२०५९ नै लागू छ।

यद्यपि, प्रतिलिपि अधिकार उल्लंघन र बौद्धिक सम्पत्तिको चोरी नियन्त्रण र रोकथामलाई अझ प्रभावकारी बनाउन र प्रतिलिपि रजिस्ट्रार कार्यालयलाई अधिकारसम्पन्न बनाउनका लागि ऐन संशोधनको तयारी समेत भइरहेको छ।

प्रतिलिपि अधिकार ऐन–२०५९ अनुसार प्रतिलिपि अधिकार उल्लंघनका मुद्दालाई सरकारी मुद्दाका रूपमा लिइन्छ। यस्ता मुद्दामा वादीले प्रहरी कार्यालयमा जाहेरी दिनुपर्छ। ऐनको दफा २५ मा ‘संरक्षित अधिकारको उल्लंघन भएको व्यवस्था मानिने’ विभिन्न आधार दिइएको छ। यस दफाको उपदफा (क) मा आफ्नो हक नपुग्ने रचना वा ध्वनिअङ्कनको प्रतिलिपिहरू उत्पादन गरी बिक्री–वितरण वा सार्वजनिक सञ्चार गरेमा वा भाडामा दिएमा प्रतिलिपि अधिकारको उल्लंघन भएको मानिने उल्लेख छ।

त्यस्तै ऐनको दफा २६ मा अनधिकार प्रतिलिपिहरूको पैठारीमा प्रतिबन्ध लगाइएको छ। उक्त दफामा भनिएको छ— ‘नेपालभित्र तयार गरिएको भए अनधिकार प्रकाशन ठहरिने कुनै रचना वा ध्वनिअङ्कनको प्रतिलिपिहरू विदेशमा तयारी गरी वा अन्य कुनै तरिकारले प्राप्त गरी व्यापारिक प्रयोजनको लागि नेपालभित्र पैठारी गर्नुहुँदैन।’

संरक्षित अधिकारको उल्लंघन गरेमा दफा २७ अनुसार दण्ड सजायको व्यवस्था गरिए पनि कार्यान्वयनको पक्ष भने फितलो छ।

प्रतिलिपि अधिकार उल्लंघन सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार भने सम्बन्धित जिल्ला अदालतलाई दिइएको छ।

अधिवक्ता परशुराम कोइराला सरकारले तदारुकता देखाउने हो भने प्रतिलिपि अधिकार ऐन–२०५९ मै टेकेर पनि प्रतिलिपि अधिकार उल्लंघन र बौद्धिक सम्पत्तिको चोरी रोक्न सकिने बताउँछन्। उनी भन्छन्, “सिर्जना मानवताको हितका लागि महत्वपूर्ण कुरा हो। बौद्धिक सम्पत्तिको उचित संरक्षण नभए सिर्जनामा उत्साह हुँदैन।”

नेपाल ल क्याम्पसका प्राध्यापक बलबहादुर मुखिया हाम्रो ऐनमा डिजिटल पाइरेसी सम्बन्धी व्यवस्था गर्नुपर्ने, नेपाल पक्ष भएका विभिन्न अन्तर्राष्ट्रिय सन्धि र सम्झौतालाई कानूनमा समावेश गर्नुपर्ने सुझाव दिन्छन्।

उनी भन्छन्, “अमेरिकामा कुनै पनि शिक्षक वा प्राध्यापकले कुनै लेखकको पुस्तकको कुनै पाठ फोटोकपी गरेर कक्षामा लैजाँदा निश्चित राजस्व तिर्नुपर्छ। यहाँ त पूरै किताब फोटोकपी गरेर बेच्दा पनि कारबाही हुने प्रबन्ध छैन।”

प्राध्यापक मुखियाको बुझाइमा सर्जकको अधिकार जति संरक्षित हुँदै जान्छ, उति नै राम्रा सिर्जनाहरू आउँछन्। प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई अर्धन्यायिक निकायका रूपमा विकास गरियो भने पनि यो क्षेत्रमा सुधार हुनसक्ने उनी देख्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0