नवलपरासी– भारतबाट आउने केराका कारण नेपाली किसानहरू मर्कामा परेकाले सीमा नाकामा कडाइ गर्न नवलपरासीको प्रतापपुर गाउँपालिकाले नेपाल सरकारसँग माग गरेको छ। गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय केराको सहज आयातका कारण स्थानीय उत्पादनले बजार नपाएको र किसानहरूको करोडौँको केरा खेतमै कुहिएको बताएका छन्।
केराको पकेट क्षेत्रमा संकट
नवलपरासीको प्रतापपुर, सुस्तालगायत चार गाउँपालिकालाई केराको पकेट क्षेत्र मानिन्छ। यहाँ करिब ४ हजार किसानले १ हजार ८२५ बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आएका छन्। यस क्षेत्रमा मासिक १७ हजार ३३७ मेट्रिक टन गरी ६ महिनामा करिब १ लाख ४ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ। तर, भारतीय केराको बढ्दो आयातले गर्दा यहाँ उत्पादन भएको केराले बजार नपाएको किसानहरूको गुनासो छ।
माग: तीन महिना आयात रोक
गाउँपालिकाले नेपाली किसानलाई राहत दिन र आफ्नै उत्पादन बिक्री गर्ने वातावरण मिलाउन भदौदेखि कात्तिकसम्म कम्तीमा तीन महिना भारतीय केराको आयातमा रोक लगाउन माग गरेको छ। यसले स्थानीय किसानको उत्पादन बिक्री गर्न मद्दत पुग्ने र उनीहरूको लगानी सुरक्षित हुने विश्वास गरिएको छ।
आयातले स्थानीय अर्थतन्त्रमा असर
विज्ञप्तिमा भनिएको छ, “केरा खेतीबाट केही हदसम्म स्थानीय रोजगारी सिर्जना भई स्थानीय अर्थतन्त्र बलियो भइरहेको थियो। तर, भारतीय केराका कारण उत्पादित वस्तु बिक्री नहुँदा यसमा गम्भीर संकट निम्तिएको छ।” गाउँपालिकाले यो समस्यालाई स्थानीय मात्र नभई राष्ट्रिय खाद्य सुरक्षामा समेत गम्भीर संकटको रूपमा हेरेको छ। यस समस्या समाधान गर्न सरकारसँग तत्काल पहल गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया