कैलाली । दक्षिणतर्फको झ्यालबाट प्रष्ट प्रकाश छिरेको छ । झ्यालका पर्दाहरू हल्का हल्लिएका छन् । कुनै बेला कोठामा सन्नाटा छाउँछ, कुनै बेला कोही सुकसुक गरेको आवाज । झ्यालबाट छिरेको प्रकाश सिँधै राजेन्द्रको आँखामा परेको छ । तरआँखा झिम्किएको छैन । त्यही झ्यालबाट छिरेको हावाको कपाल हल्लाउँदा मुहारमा शीतलता छैन । न सन्नाटामा उनी उदास देखिन्छन् न रुवाबासीमा मलिन नै ।
पछिल्लो २ महिनादेखि राजेन्द्र बोहराको अवस्था यस्तै छ । कैलाली गोदावरी नगरपालिका ५ गेटामा रहेको आफ्नो भाइको घरको एउटा बिछ्यौनामा अचेत अवस्थामा पल्टिएका छन् राजेन्द्र । बैतडी डिलासैनी गाउँपालिका २ छेपट्टाका राजेन्द्र बोहरा महेन्द्रनगरदेखि दार्चुला चल्ने बसमा सहचालकको काम गर्दै आएका थिए ।
गत जेठ १३ गते बिहान बसमै बैतडीको गोकुले पारी पुगेका बोहरालाई उनकै साथी दार्चुलाको शैल्यशिखर नगरपालिका १ बलाँचका दमन सिहं खडायतले भेटे । एकछिन गोकुले पुगेर फर्किने बताउँदै सु।प।प्र ०१–०० प १२९४ मोटरसाइकल पछाडि बसेर गएका उनीको त्यसपछि दुर्घटना भयो ।
प्रहरीले बनाएको कागजमा दुर्घटना भयो भनिएको छ, तर परिवारले त्यो दुर्घटना नभइ नियोजित घटना भएको आरोप लगाएका छन् ।
‘मेरो छोरा राम्रैसँग गएको थियो आउँदा यस्तो भयो छोरासँग पैसाको ब्याग पनि थियो त्यो पनि भेटिएन के भयो भयो’, बुबा बोल्दाबोल्दै भक्कानिन्छन् ।
छोरा दुर्घटनामा परी घाइते भएको खबर सुनेपछि अत्तालिएर अस्पताल पुगेका बुबा नन्देले छोरालाई बेहोस अवस्थामै भेटेका थिए । त्यसलगत्तै एम्बुलेन्समा राखेर उनले धनगढी पुर्याए । नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि उनी निको भएनन् । बरु अझै कमजोर बन्दै गए, अझै सिकिस्त हुँदै गए । बोहरालाई हेर्न आउनेलाई उनी पनि एक टकले हेरिरहन्छन् । बोल्न सक्दैनन् । हलचल गर्न सक्दैनन् । बरु बेला बेलामा आँखा रसाउँछ । उनको यो अवस्था देखेर सबै भक्कानिन्छन् । विक्षिप्त बन्छन् ।
घर परिवारले १८ लाखभन्दा बढी उपचारमा खर्च गरिसकेको छ । तर पनि उनको अवस्थामा सुधार आएको छैन । राजेन्द्रका तीन सन्तान छन्, दुई छोरी र एक छोरा । १५ वर्षकी छोरी पहाड छिन् आमासँग । ११ वर्षकी छोरालाई उनको दुर्घटना पछि आफन्तले कञ्चनपुर लागेका छन् । ५ वर्षका छोरा साइल अचेत बुबाको चेत आउने प्रतीक्षामा कुरेर बसिरहेका छन् । उनी बुबालाई एक टकले हेरिरहन्छन् । न बालक बोल्छन् नत राजेन्द्र बोल्न सक्छन् ।
‘बुबाले मलाई चिन्नु भएन रु’, एकटकले हेर्दा पनि आँखासम्म नझिम्क्याउँदा ५ वर्षको अबोध बालकले आपासमा रहेकाहरूलाई प्रश्न गर्छन् । आफन्तहरूले जवाफ दिन सक्दैनन्, भक्कानिन्छन् ।
राजेन्द्रकी दुई दिदी भाइको हेरचाह गर्न र घाउ सफा गर्न उनकै घरमा छन् । दुई छाक टार्न पनि समस्या हुन थालेको भन्दै थप उपचार नहुने हो कि भन्ने उनीहरुको चिन्ता छ ।
‘भएको पैसा उपचारमै सकियो अब के खाने भन्ने चिन्ता थपिँदै छ उपचार कसरी गर्ने’, राजेन्द्रकी दिदी देवकी साउद भन्छिन्, ‘मेरो भाइ उपचार नै नपाइ भर्ने हो कि भन्ने चिन्ताले पिरोल्छ ।’
उपचार गर्ने रकमको अभावले समस्या उत्पन्न हुँदै गरेको थाहा पाएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल अचेत अवस्थामा रहेका राजेन्द्रलाई भेट्न उनकै घर पुगेका थिए । उनले त्यसक्रममा २ लाख आर्थिक सहयोग गरेका थिए । राम्रो उपचार पाउँदा राजेन्द्र निको हुन सक्ने उनी बताउँछन् ।
‘धेरै समय भइसकेको रहेछ अवस्था गम्भीर जस्तो देखिन्छ तर, राम्रो ठाउँमा राम्रो उपचार भए निको हुन्छ’, मन्त्री पालले भने, ‘अब राम्रो ठाउँमा उपचार गर्न लैजान विलम्ब नगर्नुहोला ।’
मन्त्री पालले २ लाख आर्थिक सहयोग गरेपछि त्यहाँ उपस्थित डिलासैनी गाउँपालिका २ का वडाध्यक्ष नवराज घरडीले पनि २० हजार सहयोग गरेका थिए । उनले यसअघि पनि ११ हजार रकम सहयोग गरेका थिए ।
परिवारमा कमाउने व्यक्ति नै थलिएपछि अहिले बोहरा परिवार उपचार खर्च जुटाउने र घर चलाउने दुवै पीडाले थिचिएको छ । रकम अभावका कारण राम्रो उपचार पाउन नसकेका राजेन्द्र बिछ्यौनाबाट बिलौना पनि गर्न सकिरहेका छैनन् ।
(हामीले यो समाचार पश्चिम टुडेबाट लिएका हौं )